साझाबासी साथीहरू,
साझा डट कम जस्तो प्रतिष्ठित वार्ता-मञ्चको स्थापना गरेकोमा यसका संस्थापक-सञ्चालकहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। म उहाँहरूलाई जस्तै बधाइ र कृतज्ञता साझाका सक्रिय साझेदार-सहभागीहरूलाई पनि टक्र्याउँछु।
तपाईँहरूलाई "यो धेरै अघि भएको कामका लागि यो मान्छे किन आज बधाइ भन्दैछ?" भन्ने लाग्यो होला। त्यस्तो लाग्नु स्वाभाविक हो। म यस बारेमा केही भनाइ राख्ने अनुमति पनि चाहन्छु।
करिब एक वर्ष अघि मैले साझाका बारेमा पहिलो पटक थाहा पाउँदा आसुतोषजीका कारण म त्यहाँ चिनिइसकेको रहेछु। दङ्ग परेँ। त्यसपछि म पनि हावाखान र बिसाउनका लागि नियमित रूपले साझाको चौतारीमा उपस्थित हुन थालेँ। म धेरै सूत्रहरूमा सहभागी नभए पनि धेरै सूत्रहरूको नियमित पाठक भएँ। साझाले नेपालीहरूका साझा भावना र चासोका कुराहरू अभिव्यक्त गर्ने साझाथलोका रूपमा राम्रो पहिचान बनायो। यो आफूलाई बुद्धिजीवी ठानिटोपल्ने नेपालीहरूको चर्चामा आइरहे विषय पनि भयो।
तर, म दुर्भाग्य नै भन्छु, साझाको त्यो प्रतिष्ठा अहिले निकै धमिलो भएको छ। साझाको महत्वपूर्ण ठाउँ गम्भीर वार्ताले भन्दा हल्कापन र कतिपय अवस्थामा त छिचरोपन र अश्लीलताले पनि ओगट्न थालेको छ। आपसी गालीगलौजको कर्कशता पनि बढेको छ। हिन्दी सिनेमाका नायिकाहरूको तस्वीर, लुकेर खिचिएका तस्वीर र भिडियोहरूको बिगबिगी आदिका कारण साझाको साझापनमा कमी आउन थालेको छ। म आफ्ना छोराछोरीलाई "नेपालीहरूका साझा मुद्धाहरू साझाको जनअदालतमा छन्, हेर है" भन्न चाहन्थेँ। अहिले म उनीहरूलाई त्यसो भन्न नसक्ने अवस्थामा पुगेको छु। सागद तपाईँहरू पनि सक्नुहुन्न होला।
हो, जीवनलाई चाहिनेभन्दा बढी गम्भीरताको बोझ बोकाउनु हुँदैन। यौन हाम्रो जीवनको महत्वपूर्ण पक्ष हो। मनोरञ्जन, हल्कापनमा जीवनका बोझहरूलाई पनि हलुका बनाउने तागत हुन्छ। त्यतिमात्र होइन, हाम्रो व्यक्तिगत जीवनबाट छिचरोपन र अश्लीलतालाई समेत निकालेर फ्याँक्न सम्भव नहोला। तर हामी सबैले गुड र गोबर चाहिँ छुट्याउनै पर्छ। गुड र गोबर दुवै कुरा महत्वपूर्ण छन्, तर एउटाको ठाउँमा अर्को पर्यो भने सत्यानाश हुन्छ।
(क्रमशः यसैपछि)