'गाउँमै बसेको भए उपेन्द्र महतोले पान दोकान खोल्थ्यो'
काठमाडौंका पूर्वमेयर एवं उपत्यका प्राधिकरणका आयुक्त केशव स्थापितलाई कसैले हावा त कसैले गफाडीको संज्ञा दिन्छन् । अधिकांशले चाँहि उहाँले मेयर हुँदा गरेको सडक विस्तारलगायतका कामलाई लिएर राम्रो नेताका रुपमा पनि लिने गर्छन् । हुन पनि स्थापितसँग शहरी विकासका योजना यति धेरै छन्, कि उहाँले भनेजस्तै गर्ने हो भने काठमाडौं एकदुई वर्षमै स्वर्ग बन्थ्यो होला ।
त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको स्विमिङ पुलमा आइतबार बिहान फेला पर्नुभएका स्थापितले पुलको छेऊमा बसेर आफ्ना हवाइ योजनाहरु अनलाइनखबरलाई सुनाउनुभयो । कुरा गरेर मख्खै पार्ने क्षमता भएका स्थापितले संगीतकार अम्बर गुरुङ दार्जीलिङमा नभएर लम्जुङको घले गाउँमा जन्मेको भए होमस्टे चलाएर बसिरहेका हुन्थे होला भन्दै गाउँका सबै मान्छेलाई सहरमा ल्याउनुपर्ने योजना सुनाउनुभयो । आफूसँग मान्छेलाई धनी बनाउने मेसिन रहेको दाबी पनि स्थापितले गर्नुभयो । ‘उपेन्द्र महतो जनकपुरमा बसिराखेको भए पान दोकान खोल्थ्यो होला ।’-स्थापितले भन्नुभयो ।
राजेश हमाललाई एक दिन डोको बोकाएर फोटो खिचाउँदैमा बाग्मती सफा नहुने उहाँले बताउनुभयो । साथै काठमाडौंका विभिन्न स्थानको नाम परिवर्तन गर्नुपर्ने उहाँले तर्क गर्नुभयो ।
अबदेखि आफूले हल्ला थोरै गर्न थालेको भन्दै उहाँले केही महिनापछि नै बाहिरी रिङरोड बनाउन थाल्ने बताउनुभयो । त्यस्तै साँखुसम्म शहर विस्तार गर्ने योजना पनि उहाँले अघि सार्नुभयो । यसका लागि सबै पार्टीका मान्छेलाई मिलाएर नेपाल डेभलपमेन्ट फोरम गठनको तयारीमा लागेको स्थापितले खुलासा गर्नुभएको छ ।
एमाले आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि जिम्मेवारीविहीन रहेका स्थापित विभिन्न दल र समुदायका युवा नेताहरुलाई मिलाएर फोरम गठनको तयारीमा जुट्नुभएको हो । उहाँले आफ्नो टीममा सद्भावना नेता सरिता गिरीलाई पनि राख्ने बताउनुभएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त समेत रहेका स्थापितले अनलाइनखबरसँग भन्नुभयो-’हामी अहिले मस्यौदा निर्माणकै चरणमा छौं । यो फोरम सबै पार्टी र समुदायका युवा नेताहरु अटाउनेछन् ।’ उहाँकाअनुसार फोरममा नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरीदेखि तानेसनका पूर्वमेयर अशोक साही र बृहतर चितवन भ्यालीका संयोजक विजय सुवेदी १ सयभन्दा बढी युवा नेता एवं अगुवाहरु रहनेछन् । महात्वाकांक्षी योजना बनाउनमा चर्चित स्थापितको भनाइ र सपना उहाँकै शब्दमा :
मैले आठौं महाधिवेशनपछि एमालेमा केही जिम्मेवारी पाएको छैन । ३४/३५ सालदेखि लागेकाहरु पनि जिम्मेवारीविहीन छन् । कांग्रेसभित्र रहेेको त त्यहाँ जिम्मेवारी नै नहुँदो रहेछ । म कांग्रेस भन्नुबाहेक के छ र ? मधेसका साथीहरुसँग पनि बसेँ । माओवादीभित्र पनि खाइपाई आएकाहरु बाहेकको पनि के छ र ? यसरी हेर्दा राप्रपाभित्र पनि राष्ट्रवादीहरु छन् ।
यो त नयाँ विचार आयो यार !
सबै कुरा गर्दा खास प्रवृत्ति के देखियो भने मेरो गाउँ बनाउनुपर्छ । बँगुर पाले के होला ? । पहिला यस्तो थिएन । एउटा पार्टीले केही गर्यो कि विरोध हुन्थ्यो । अहिले धेरै कुरामाथि तैरिएको छ । यो के तरकारी होला ? बंगुर पाले के होला, सबैमा एउटा छटपटी छ ।
यो भन्दामाथि मैले होलिष्टिक एप्रोच भएका मान्छेहरु देखेँ । जस्तो बृहत चितवन भ्यालीको नारा आयो । काठमाडौं उपत्यका विकास प्राधिकरण भो । अखण्ड सुदूरपश्चिम भन्ने आयो । पहिले थिएन । जिल्लामा पनि वडा, गाउँ, टोलमा विभाजित थियो । लिम्बुवानले लिम्बु क्षेत्र यस्तो छ भनेर देख्न थाले ।
अब यसलाई विभाजित रुपमा हेर्ने कि यसलाई एक ठाउँमा ल्याउने भन्ने कुरा आयो । यसलाई एक ठाउँमा ल्याउने काम अब पार्टीले गर्न सक्दैन । माओवादीले लिम्बुवानलाई बसाऔं भन्यो भने कुनै कुरामा सहकार्य होला तर, सबै कुरा मिल्दैन । मधेसी पनि बस्दैन । कोही पनि बस्दैन । त्यसैले सबैलाई समेट्ने एउटा एपेक्स बडी चाहियो भनेर मैले कल्पना गरेको हुँ । जसले बृहत्तर कुरा उठाउन सक्छ । मैले सबै पक्षसँग कुरा गरेँ, उनीहरुले यो त नयाँ विचार आयो यार भनेका छन् ।
फोरममा सबै दल अट्छन्
नेपाल डेभलपमेन्ट फाउन्डेसन भए पनि मानौं, यसमा एमाले पनि होस्, कांग्रेस पनि होस, माओवादी पनि होस्, मधेसको मान्छे पनि होस् । हामी सबै एउटै ठाउँमा बसेर तदर्थ समिति बनाउने भन्यौं । देशव्यापीरुपमा संगठन विस्तार गर्ने र मूल नारा के भने विकासका कुरा गर्नुपर्यो । अब देश विकासको चरणमा गयो । पुँजिवादी-जनवादी क्रान्ति पूरा गर्ने नारा चाहियो । उनीहरु एमाले नै भइरहुन्, माओवादी नै भइरहुन्, मलाई मतलव छैन । पार्टीभित्र हाम्रो एजेण्डा लिएर जाँदा अखण्ड सुदूरपश्चिम भनेको के ? कसरी हुन्छ ? अथवा चितवन भ्याली भनेको हो ? किनभने केरुङमा पार्टीले बोल्दैन ।
१४ वटा प्राधीकरण
केरुङ हुँदै रेल आउँदैछ । गल्छी हुँदै सुरुङ मार्ग जान्छ । यो चाइना र इण्डियाको सर्किट बनिसक्यो । किनभने नारायणी नदीको किनारा त शहर बनाएपछि त साङघाइको फुदुङ शहर जस्तो भयो भनेर उनीहरुले देखिसक्यो । कुनै पार्टीले देखेको छैन । तर, सबै पार्टी एकै ठाउँमा आएपछि त देखिने रहेछ नि । त्यो कारण भोलि चाइनाबाट लुम्बिनीसँग रेल लैजाने कुरा होला । कसले गर्ने भन्दा त उनीहरुले गर्ने हो । पार्टीले नगर्ने रहेछ । भोलिको राजधानी भनेको त्यहाँ अर्को प्राधिकरण जन्मन सक्छ । त्यसैले फोरमबाट हामी १४ वटाजति प्राधिकरणको वकालत गर्छौं ।
हामी ४ घर भएको ठाउँमा हामी विकास पुर्याउँछौं, बाटो, पानी, विजुली भन्छौं । अहिल्यै हुन्छ । सबै पार्टीहरुले धर्म निर्वाह गरेनन्, वेइमानी गर्ने । हुँदै नभएको कुरा गरेर सपना देखाइदिने । उनीहरु पलायन हुन वाहेकको विकल्प छैन । त्यसैले मैले भनेको चितवन भ्यालीमा नवलपरासी र चितवनको सुदूर ठाउँमा बसेकालाई राख्ने । तिमी यहाँ आउ । तिम्रो गाउँको जमिन छोड्देउ । त्यो जमिनमा चिया खेती होला कि, अलैंची खेती होला । त्यो जग्गाको सट्टापट्टा हामी यो उपत्यकामा किन नदिने ?
नारायणी नदी किनारको सरकारी जग्गा अहिले कठ्ठाको ५० हजार होला । त्यहाँ उसलाई एक कठ्ठा जग्गा दिएर ५ हजार मान्छेको बस्ती बसायो भने १० परिवारले ग्यासँ बेच्ने, १० परिवारले मासु बच्ने, १० परिवारले तरकारी बेच्ने । सबैले भागबण्डा गर्यो भने ५ हजारमध्ये २५ सयले त्यही रोजगारी पाउने रहेछ । एकैठाउँमा बसेपछि उसको स्वाथ्य, शिक्षा, पानी सबैसँग एप्रोच हुने भने । सबै सुविधायुक्त र विगर इकोनोमी जोनमा बसेपछि उसको चेतनास्तर पनि माथि जान्छ । जसले महिला हिंसा जस्ता समस्या पनि अन्त्य गरिदिन्छ ।
गाउँका मान्छेलाई शहरमा ल्याउनुपर्छ
अर्को कुरा उपत्यकामा कसैले मः म खान जाँदा तपाई दमाई हो कि साकी हो कसैले सोध्छ ? हाम्रो मनमै छैन । तर, गाउँमा बसुन्जेल त्यो सामाजिक विभेद रहन्छ । त्यसैले उसलाई शहरमा ल्याउनै पर्छ । हामीले उसलाई न्याय दिने भए तल शहरमा ल्याउनै पर्छ । यसले सार्की, दमई सबै हराउँछ र जसले प्रतिस्पर्धा गर्छ, उसैले जित्छ ।
जस्तो उपेन्द्र महतो परिस्थितिले पञ्चायतले नाकावन्दी गरेर जनकपुरमा बसेको भए के गथ्र्यो होला । उनको चेतना एउटा सानो उद्योग खोल्यो होला । ठक्कापट्टा गर्थ्यो नभए पान दोकान खोल्थ्यो होला । तर, भाग्दै आएर इन्जिनियरिङ क्याम्पस आयो, यहाँको माहोलले रुसमा पढ्न जाने मौका पायो । बेलारुस गयो । त्यो विगर इकोनोमी देख्यो । अनि युरोप भन्ने पनि देख्यो र सोभियन युनियन कोलाप्स हुँदा त विजनेस गर्ने मान्छे नै थिएन । प्रतिपर्धामा आएको देख्यो, झ्याप गर्नासाथ खर्बपति बन्यो ।
मान्छेको सम्भावना भनेको गाउँमा बसेर हुँदैन । उसको घेरा नै सानो हुन्छ । गाई हुन्छ, एक दिन कहीँ जानु पर्यो भने पनि गाईको मायाले जानै सक्दैन । गोबर कसले सोर्ने, कसले पानी खुवाउने भन्छ । जिन्दगी सिध्दियो ।
त्यसैले मेरो सोच भनेको ठूलो-ठूलो इकोनोमिक जोन क्रिएट गर्ने । जुन ठाउँमा उसलाई ल्याउने । नसकिने भए राज्यले प्रटेक्सन दिनुपर्यो । ब्यांकले लोन देउ न । मैले भनेको एउटा केही नभएको भइफुट्टा मान्छे, दुईआना जग्गा पनि नभएको, अरुकोमा हली बसेको उ हामी कहाँ आयो भने के हुन्छ भने १० हजार परिवारभित्र आयो भने केही पैसा लिएर जग्गा र घर दिने र यसलाई ग्यास बेच्न दिने । यसलाई ८ प्रतिशत ब्याज लिने हो भने ८० हजार त तिर्नुपर्यो । जसले जिन्दगीमा १० हजार गनेको छैन, उसको खनाखर्च गर्दा त महिनामा १/२ लाख त हुन्छ । जुन गाउँमा बसेर सम्भवै छैन । तर, उसले यहाँ आएर बसेपछि ग्यास बेच्छ, हजार परिवारले किन्छन् । महिनामा लाख रुपैयाँ कमाएपछि ऋण तिर्छ । अर्को १ वर्षमा १२ लाख कमाएपछि उसको लाइसेन्स खोसिदेउ, किनकि उ धनी भइसक्यो ।
मसँग मान्छेलाई धनी बनाउने मेसिन छ
मसँग मानिसलाई धनी बनाउने मेसिन छ । त्यो मिसनमा खाली कागज हालेपछि नोट भएर आउँछ । मेरो प्रयास के हो भने सबैलाई तान्ने । यसका लागि एउटा सत्ता चाहियो, जसले यसको बारेमा बोल्छ, एड्भोकेसी गर्छ ।
शहर आएको माओवादी पनि करोडपति भए । राप्रपा पनि करोडपति भए । बीचका सबै पनि करोडपति भए । दुई करोडपति परिवार बसेर राष्ट्रिय चिन्तन हुन्छ । बिहान उठेर २ घण्टा पानी लिन जाने, अनि फर्किएर जागिरमा जाने, पकाएको खाने । मीठो र नमीठो भनेको मान्छेलाई थाहा छ । तपाई तामाङ गाउँमा जानुस्, ढिँडो पकाएको हुन्छ । अलिकति गुन्द्रुक हुन्छ र एउटा खुसार्नी हुन्छ । त्योभन्दा अर्को छैन । किनभने त्यो सोच्ने फुर्सद नै छैन उहाँहरुलाई । त्यही तामाङ सिन्धुपाल्चोकमा बस्यो भने वनपाखामा गएर मात्र गीत गाउँछ । अनि दार्जीलिङ गयो भने मुलुकको गोपाल योन्जन बनाइदिन्छ । अम्बर गुरुङकै कुरा गरौं न । घले गाउँमा बसेका भए होमस्टे चलाएर बसेका हुन्थे होला । त्यसैले अहिलेको चेतनाको लेभल उछिन्ने, १० छलाङ मार्ने चेतनाको स्तर ल्याउने हो ।
हल्ला गर्न छाडें, अब बाहिरी रिङरोड शुरु गर्छु
मैले पछिल्लो समय हल्ला गर्न छाडेको हो । हिजोमात्रै एउटा मिटिङ भो । आउटडोर रिङरोडको कुरा भएको १० वर्ष भो तर, अहिलेसम्म केही भएको छैन । कहाँ बन्छ, कसैलाई थाहा छैन । चोभारदेखि सतुङ्गलसम्म बनाउने भनेको सतुङ्गलमा समस्या भएको रहेछ । अब यो मेरो जिम्मामा आउन लागेको छ । मैले छाँडी गोकर्णेश्वरतिरको ३ गाविसका मानिसहरुसँग अन्तरक्रिया गरेँ । विरोध नै छैन । कहिले गर्ने, छिटो गर्नुपर्यो भन्ने छ । मलाई लाग्छ, अबको दुई अढाई महिनामा मैले कुनै एक ठाउँबाट आउटडोर रिङरोड सुरु गर्छु ।
बाबुरामजीको पालामा सडक विस्तार सुरु भो । त्योबेला हरेक दिन डोजर चल्ने, पुलिस जाने, तोडफोड हुने भन्ने हो । तर, अहिले वागबजारबाट पुतलिसडक हुँदै जानुस्, सबै ठाउँमा आफैं भत्काउँदैछन् । सोह्रखुट्टेदेखिमाथि बालाजु क्षेत्रमा आफैं भत्काउँदैछन् । पहिले त त्यहाँ त आतंक थियो । कारण के हो भन्दा राजनीतिक दबाव दिने, सीडीओ लगाउने भन्दा मजस्तो मान्छेको काम भनेको जनताको बीचमा जाने हो । प्रत्येककोमा जाने नमस्कार गर्ने, घुसपैठ गर्ने । कुरा नमिलेसम्म भत्काइने छैन, डोजर आउँदैन । चिनो लगाउने हो । भनेपछि जसजसको अनुकुल छ, उनीहरुले भत्काए । उहाँहरुको आग्रह के छ भत्काएको पैसा दे न केशव भन्छन् । अझ उनीहरु त मलाई प्राधिकरण भन्दैनन्, मयेरसाव भन्छन्, मेयरसाव भत्काएको पैसा दे न । हामीसँग छैन भन्छन् । अब ५/७ सय घर आफैं भत्किन्छ । पुलिस लगाएर दुईपटक डोजर लगेर हाइहुई गर्यो भने त पत्रिका टीभीभरि मै हुन्छु नि । तर, टीभीमा आउने कुरा प्रधान हो कि शान्तिपूर्ण रुपमा भत्काउने ?
साँखुसम्म शहर बनाइन्छ
अरनिको राजमार्गको जडिबुटीदेखि साँखुसम्म एउटा शहर बनाउनेमा गृहकार्य गदैछौं । बाग्मती सभ्यतासँग बसेर १/२ दिनमै टुङ्ग्याउँछौं । बाग्मतीले नदीको कुरा गर्ने र एउटा शहर बनाउने । अर्को बाग्मतीलाई फलो गरेर ७ गाउँको फिनल्याण्ड बनाउने लगभग टुङ्गएिको छ । यो सबै हल्ला गरेर हुँदैन । ब बाग्मती सफा गर्छु भन्यो, मन्त्री लग्यो, राजेश हमाल लग्यो । राजेशलाई जोकर बनाउन मिल्छ ? उनलाई थाहा छ यो गर्नुपर्छ । तर, गर्नुपर्ने संयन्त्रले काम नगर्ने अनि राजेश हमाललाई एक दिन डोको बोकाएर फोटो छपाएर हुन्छ ? त्यसैले मैले आफ्नो वर्किङ स्टाइल नै चेन्ज गरेको छु ।
काठमाडौंको नाम फेर्नुपर्यो
तपाईले गरेको काम देखिएन भन्नु मुर्खता हो । सिंगो उपत्यका तताउन त २/३ महिना लाग्छ नै । मैले खोजेको गुणमा परिर्वतन हो । बीचको अवधि कहाँ गयो भनेर खोज्ने हो भने काम नै हुँदैन । मेरो नेतृत्वमा भएको अर्को काम भनेको थानकोट-कलंकी क्षेत्रमा उहाँहरु सबै घर भत्काउन तयार । जत्रो लेन बनाउन पनि तयार । एक चरणको मिटिङ सकेपछि काम सुरु हुन्छ र होल प्याकेजमा यो काठमाडौं दक्षिण-पश्चिम वा कुनै एउटा नामाकरण गर्नुपर्यो । कीर्तिपुरभन्दा त मान्दैनन् । त्यसैले दार्जीलिङमा जाँदा नर्थ, साउथ प्वाइन्ट भनेजस्तो साउथ वेष्ट भन्ने कि ? त्यो सबैलाई मेट्रोपुलिस बनाउँ भनेको हो । उहाँहरुका पछाडि वन, पानी सबै छ । र, त्यो गोलढुंगादेखि बाँडभञ्ज्याङ क्षेत्र रक बेस हो । ५० हजार विघा त्यो क्षेत्रमा हङकङको हाइरेन्जको भन्दा चर्को विल्डिङ बनाए हुन्छ । भोलि सबैलाई त्यहाँ लान सकिन्छ ।